FAQs Complain Problems

बैंक खाताको बिवरणहरू ?

बैंक खाता विभिन्न प्रकारका हुन्छन् । यी मध्ये चल्ती खाता, बचत खाता र मुद्दती खाता चलन चल्तीमा रहेका प्रमुख खाताहरु हुन् । 

चल्ती खाता : आफुले चाहेको समयमा चाहेको जति रकम एकै दिनमा जतिसुकै पटक पनि राख्न तथा झिक्न सकिने खातालाई चल्ती खाता भनिन्छ । यस खातामा राखेको पैसामा सामान्यतया ः ब्याज प्राप्त हुँदैन । उद्योग, व्यापार र कार्यालयहरुका लागि मात्रै यो खाता बढी उपयोगी हुन्छ ।

बचत खाता : बचत खातामा रकम जति पटक पनि जम्मा गर्न सकिन्छ तर एकैदिनमा धेरैपटक पैसा झिक्न सकिँदैन । यस किसिमको खातामा रकम झिक्दा एउटा निश्चित सीमाभित्र रहेर मात्र रकम झिक्न सकिन्छ । यसका लागि बैंकले सीमा तोकेको हुन सक्छ । यस खाताको रकममा बैंकले निश्चित ब्याज प्रदान गर्दछ । सामान्य तथा साना रकम जम्मा गर्दै जाने र आवश्यक परेको समयमा रकम निकालिरहनु पर्ने व्यक्तिका लागि यो खाता उपयोगी हुन्छ । यस खाताबाट बैंकमा सुरक्षित तवरले रकम जम्मा हुनुका साथै ब्याज सहित आबश्यक परेको बेलामा निकाल्न सकिन्छ । विद्यार्थी, युवा, गृहस्थी, बृद्धबृद्धा सबैका लागि यो खाता उपयोगी र सरल हुन्छ ।

मुद्दती खाता : मुद्दती खातामा ३ महिना, ६ महिना, १ वर्ष, २ वर्ष वा  ५ वर्षसम्मको एउटा निश्चित समय अवधि तोकेर रकम जम्मा गरिन्छ । छिटोछिटो पैसा झिक्न नपर्ने अबस्थामा तोकिएको समयसम्म बैंकमै राख्न सकिनेगरी बैंक खाता संचालन गर्नका लागि यो खाता उपयूक्त हुन्छ । यस खातामा राखेको पैसाको ब्याजदर पनि बचत खाताको भन्दा बढी हुन्छ । तर, तोकेको समयभन्दा पहिले नै रकम निकाल्न नमिल्ने हुँदा तोकिएको समयभन्दा अगाडिनै रकम आवश्यक नपर्ने अवस्थामा मात्र यस्तो खातामा रकम जम्मा गर्नु उपयुक्त हुन्छ । अन्यथा तोकिएको समय अगावै रकम आवश्यक परेमा यस्तो खातामा जम्मा गरेको रकमको प्रमाणपत्र धितो राखी ब्याज तिर्नेगरी बैंकबाट कर्जा निकाल्न सकिन्छ ।